बिर्तामोड / कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको भूगर्भ सिमेन्ट उद्योगले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ ।

कांग्रेसका प्रभावशाली नेताको समुहको लगानी रहेको उद्योगले पीपीसी सिमेन्ट गुणस्तरहीन उत्पादन गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको हो । 

OM Sai Pathibhara Hospital

कपिलबस्तु कृष्णनगरका रमाकान्त चौधरीले घर निर्माण गर्दा गुणस्तरहीन भएको पाएपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा विभागले सिमेन्टको गुणस्तर परीक्षण गर्दा कम्प्रेसिभ स्ट्रेन्थ ३ र ७ दिनको मान क्रमशः ९ एमपिए र १५ एमपीए पाइएको थियो।

नेपाल गुणस्तर चिन्ह ३८५ अनुसार १६ एमपिए र २२ एमपिए हुनुपर्ने भएपनि मापदण्ड पालना नभएको पाइएपछि विभागले बिक्री वितरणमा रोक लगाएको हो । 

उद्योगमा बागमती प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँ र काठमाडौं विकास प्राधिकरणका पूर्व आयुक्त डा. भाइकाजी तिवारी लगायत समूहको लगानी रहेको छ । 

उद्योगले एपोलो, देउराली, क्रिष्टल, ब्राण्डका पिपिपसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।