एजेन्सी //सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ''२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको'' बताएका छन्।

OM Sai Pathibhara Hospital

यो पूरै देशका लागि गर्वको क्षण रहेको बताउँदै उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमिमा नहुने सुनिश्चित रहेको बताएका छन्।

यस्तै  सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका छन्।

आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको समेत उनले जानकारी गराएका छन्।

आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताएका छन्।

कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले जानकारी दिएका छन् ।

तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरूसहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ।

यता तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।

पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएका छन्।

सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने समेत मुजाहिदले जानकारी गराएका छन्।

आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने समेत उनले बताएका छन् ।