काठमाडौँ  / न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।

सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्कासन गर्न लागेको हो ।

OM Sai Pathibhara Hospital

कम्पनीले मर्स्याङ्दी गाउँपालिका–३ ( साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र ) तथा मर्स्याङदी –६, ७ र ८ ( साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा ) का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्कासन गरेको हो ।

आइपिओमा एनएमबी बैंकको बेँसीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।