चितवन / नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको केही दिन अघि भएको शंकास्पद मृत्युका विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

मोबाइल तस्करी प्रकरणमा नाम जोडिएका वाग्लेको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएपछि गृहमन्त्रालयले छानविन समिति बनाएको हो ।

OM Sai Pathibhara Hospital

पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज वाग्लेको गत साउन २५ गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

वाग्लेको मृत्यु हुन अघि नवलपरासीबाट लाखौं मूल्यको ठूलो परिमाणमा मोबाइल  बरामद भएको थियो । करछली गरी भित्राइएको मोबाइल प्रकरणमा नाम जोडिएका प्रहरी अधिकारी मध्ये वाग्ले पनि एक रहेका थिए ।

सोही प्रकरणमा नाम जोडिएर छानविनमा तानिएका वाग्ले निलम्बनमा रहेका बेला घटना भएकाले शंकास्पद देखिएको गृहमन्त्रालयका अधिकारीले बताएका छन् । 

मन्त्रालयले मोबाइल प्रकरणका विषयमा छानविन गर्न सहसचिव सुनील खनालको नेतृत्वमा ,राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य रहेको छानविन समिति नै बनाएको छ । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

वाग्ले मृत्युको एक साताअघि २१ साउनमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका –१ मा पर्ने पूर्वपश्चिम राजमार्गबाट कर छली गरी ल्याइएको ५ सय ९५ थान मोबाइल बरामद भएको थियो ।

प्रहरीको सहयोगमा नै मोबाइल भित्राएको मानिदै आएको छ । पश्चिम नवलपरासीमा सहज रुपमा सिमा कटाएको मोबाइल पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय दुम्किबासले बरामद गरेको थियो ।

भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका –८ का अर्जुन ढकाल र भरतपुर –२१ का इन्द्रलाल श्रेष्ठलाई समेत दुम्किबास  प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीसँगको मिलेमतोमा भित्राएको मोबाइल प्रकरणमा इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज रहेका वाग्लेको मिलेमतो रहेको आशङ्कामा उनलाई निलम्बन गरी छानविन अघि बढाइएको थियो । वाग्लेकै घुमुवा प्रहरीले मोबाइल छुटाउन १३ लाख रुपैयाँ लिएको आरोप लाग्दै आएको छ ।

मोबाइल प्रकरणमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्द आचार्यकै नाम समेत जोडिएको छ । आचार्यकै मिलेमतोमा तस्करी भएको र वाग्लेमाथि यातना दिएको आरोप लगाउँदै नवलपरासीकै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले संसद्मा छानबिन समिति गठन गर्न समेत माग गरेका थिए ।

मोबाइल तस्करी प्रकरणमा प्रहरीका ठूला अधिकारीको नाम जोडिएकाले सङ्गठित रुपमा नै नवलपरासीबाट प्रहरीको सहयोगमा तस्करी हुने गरेको आशंका गर्दै मन्त्रालयले छानविन समिति बनाएको हो । तस्करीमा जोडिएका वाग्लेको दुर्घटना पनि शंकास्पद देखिएको अनुसन्धानमा संलग्न अधिकारीको भनाई छ ।