पोखरा / कास्कीको मादी गाउँपालिका –१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको छ ।

पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी –१ का पार्चेखिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए ।

OM Sai Pathibhara Hospital

सुरुआतमा स्थानीय लघु जलविद्युत् र पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले क्षति पुर्याएकाले  अँध्यारोमै बस्दै आएकामा  शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको बिजुली उपलब्ध गराइएको हो ।

गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुङले शनिबार सामूहिक मिटर बक्सको स्वीच अन गरी लाइनको शुभारम्भ गरेका थिए । सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमा नै बिजुली बालिएको उनको भनाइ छ ।

उनले भने, “बाढीले क्षति पुर्याएकाले दुई महिना जनताले दुःख पाए पनि शनिबारदेखि विद्युत् प्राधिकरणसँगको समन्वयमा सिक्लेस, पार्चे तथा खिलाङ गाउँमा केन्द्रीय प्रसारणको बिजुली पुगेको छ । सबैको निरन्तरको मेहेनत र सहकार्यबाट गाउँमा बत्ती बाल्न सफल भएका छौँ ।”

बिजुली अभावमा लामो समय वडा कार्यालय, बैंक, सहकारी, एक्याप कार्यालयको सेवा प्रवाहमा असर परेको थियो । गाउँमा मोबाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्नसमेत कठिनाइ भएको थियो ।