काठमाडौँ / नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।
प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको अधिकारीले जानकारी दिए ।
सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला छन् । संयोजक बस्नेत यस अघि सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
त्यसै गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका छन् । संयोजक लम्साल यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए ।
सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगरलाई चयन गरिएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहेका छन् । संयोजक पुन यस अघि सामाजिक विकास मन्त्री समेत बनेकी थिइन् ।
त्यस्तै पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन , सदस्यमा पुष्पा केसी भण्डारी, अर्थ मन्त्रालयको संयोजकमा इन्द्रलाल सापकोटा, सदस्यमा कृष्ण बहादुर थापा, भूमि, व्यवस्था, कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ, सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली चयन भएका छन् ।
त्यसैगरी ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ, सदस्यमा धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मी, सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन भएका छन् ।
पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी, सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन् ।