काठमाडौं / जघन्य अपराधका घटनामा संलग्न नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद आफताव आलमको मुद्दा शुक्रबार सर्वोच्चको पेशीमा चढेपनि सो विषयमा सुनुवाइ भएन ।
वि.स. २०७० सालमा निर्वाचनको समयमा पाशविक तवरले गरिएको मानवीय हत्याको घटनामा संलग्न रहेको अभियोगमा हाल थुनामा रहेका उनले तल्ला अदालतको फैसला प्रति आपत्ति जनाउँदै सर्वोच्चमा निवेदन दिएका थिए ।
निर्वाचनको समयमा रौतहटमा भएका बम बिष्फोट र इँटा भट्टामा राखेर मजदुरलाई जिउँदै जलाएर हत्या गरिएको आरोपमा उनी जिल्ला र उच्च अदालतको आदेशमा पुर्पक्षका क्रममा हाल थुनामा रहेका छन् ।
थुनाबाट छुट्न पाउनुपर्ने मागसहित आलमले दिएको निवेदनमाथि न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा शुक्रबार सुनुवाइ हुने सर्वोच्चको तालिका रहेको थियो । तर सर्वोच्चले आलमको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सुचीमा राखेको छ ।
आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले पुर्पक्षमा पठाउने आदेश दिएका थिए । सो आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।