बिर्तामोड / केपी शर्मा ओली नेतृत्वको सरकारले सञ्चालनको तयारी गरेको रेल पनि सरकारी कमजोरीका कारण सङ्कटमा परेको छ । 

ओली प्रधानमन्त्री भएको समयमा देशभित्रै फरकफरक ठाउँमा कहि मोनोरेलमा त कहि मेट्रो रेल सञ्चालनको सपना आम जनतामा बाँडिएको थियो । तर उनकै नेतृत्वमा रहेको सरकारको कमजोरीका कारण सञ्चालनको नजिक रहेको भारतको जयनगर देखि धनुषाको कुर्था सम्मको रेलसेवा समेत सञ्चालन नहुने भएको छ । 

OM Sai Pathibhara Hospital

सरकारले सम्झौता अनुसार भारतलाई पैसा भुक्तानी नगरिदिँदा नेपालले खरिद गरेका रेल सञ्चालनमा समस्या आएको हो । ओली नेतृत्वको सरकारले ०७७ असोज २ गते भारतसँग दुईवटा रेल खरिद गरेको थियो । सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेका रेल अहिले सम्झौता अनुसार भुक्तानी नदिँदा त्रिपाल ओडाएर राखिएको छ । 

भारतीय कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग सरकारले सन् २०२१ मे २४ मा रेल सञ्चालन गर्न सम्झौता गरेको थियो । सम्झौता अनुसार रेल चलाउन सबै तयारी पुरा भएपनि नेपालले अग्रिम भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम भुक्तानी नगरिदिंदा समस्या आएको हो ।

भारतीय कम्पनीले सोही कारण देखाउँदै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो । ओली सरकारले रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीको स्थापना गरी आफ्नो दलका गुरु भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । भट्टराई रेल सञ्चालनको काम भन्दा बेसी पार्टी गतिविधिमा लागेपछि रेल पनि अलपत्र बनेको आरोप लाग्दै आएको छ ।

ओली नेतृत्वको सरकार फेरिएसँगै रेल सञ्चालन गर्न नसकेको र पदीय मर्यादामा रहेर काम नगरेको कारण देखाउँदै उनीमाथि कारवाहीको तयारी भएपछि उनले पदबाटै राजिनामा समेत दिएका छन् । 

भट्टराईको राजिनामा आएकै भोलिपल्ट भारतीय कम्पनीले रेल सञ्चालन सम्झौता खारेज गर्ने चेतावनी दिएको हो । चेतावनी लगत्तै सरकारले सञ्चालनका लागि तयारी तिव्र बनाइएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी गराएका छन् । उनले जिम्मेवारी बोकेकाकै लापरवाहीले रेल सञ्चालन हुन नसकेको बताउँदै वर्तमान सरकारले छिट्टै रेल सञ्चालनमा ल्याउने बताएका हुन् ।