काठमाडौँ / सरकारका मुख्यसचिव शङ्करदास वैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव वैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताएका छन् । 

OM Sai Pathibhara Hospital

चुनौतीबाट नतर्सेर आफूलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने उनले सुझाव दिएका छन् । “योजना र मानव संसाधन मजबुत बनाउनेतर्फ ध्यान दिन जरुरी छ”, मुख्यसचिव वैरागीले भने, “कम्पनीलाई अघि बढाउन रोडम्याप बनाउनतर्फ लाग्नु पर्छ ।” 

सेवा प्रभावकारी बनाउन गृहकार्य आवश्यक भएकोमा जोड दिँदै वैरागीले कम्पनीका आफ्ना समस्या आन्तरिक छलफलबाट नै समाधान गर्न सकिने बताए । “कोरोना महामारीका कारण अहिलेको समय चुनौतीपूर्ण छ, यस्तो बेला उपभोक्तालाई घरदैलोमै सेवा दिनुपर्छ”, उनले भने। 

खाद्यान्न भण्डारण र खरिदमा ध्यान दिन निर्देशन दिँदै उनले व्यापारी पुग्न नसकेको ठाउँमा कम्पनी पुग्नुपर्ने बताए । “मुलुकमा भोकमरीको अवस्था आउन दिन हुन्न, नागरिकका आधारभूत आवश्यकता पूरा गर्नतर्फ ध्यान जानु जरुरी छ”, उनले भने ।