काठमाडौँ / ललितपुर महानगरपालिकाले नगरक्षेत्र भित्र कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार रुपैयाँ सहयोग गर्ने बताएको छ । 

OM Sai Pathibhara Hospital

यस्तै कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ र संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिलाई अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत दिने जारी विज्ञप्तिमा उल्लेख छ । 

२०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन् । उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्ने छ ।

सहयोग प्राप्त गर्नका लागि कोभिड पोजेटिभ भएको पीसीआर रिपोर्ट, सङ्क्रमितको पहिचान खुल्ने कागजात, अस्पताल भर्ना–डिस्चार्ज भएको मिति उल्लेखित कागजात, मृतकको हकमा अस्पतालले उपलब्ध गराएको मृत्यु प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको मृत्यु दर्ता प्रमाणपत्र, मृतकसँगको नाता सम्बन्ध खुल्ने कागजात, होम आइसोलेसनमा वा अन्यत्र मृत्यु हुनेको हकमा वडा कार्यालयको सिफारिस तथा शव व्यवस्थापन पुष्टि हुने कागजात पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।