बिर्तामोड / भारतमा बरामद भएको ६ अर्ब ८६ करोड मूल्य बराबरको लागूऔषध कारोबारमा पूर्व गृहराज्य मन्त्री एवं नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल जोडिएका छन् । भारतीय प्रहरीले केहि दिन अघि नवलपरासी नजिकको भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरेको लागूऔषध कारोबारीसँग नेता कँडेलको नाम जोडिएको हो ।

सीमावर्ती क्षेत्रको भारतीय गाउँमा स्थानीय गोविन्द गुप्ता रौनियारको घर खानतलासीका क्रममा भारतीय प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो । लागूऔषध कारोबारी रौनियारसँग कँडेलको सम्बन्ध रहेको र उनैले संरक्षण गरिरहेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले दावी गरेका हुन् । 

OM Sai Pathibhara Hospital

रौनियारको घरबाट २८ हजार २ सय २० इन्जेक्सन , १८ हजार ७ सय ८२ सीसी सिरप , ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल , १ लाख २४ हजार ८ सय ७५ ट्याबलेट र नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० स्टिकर बरामद भएको थियो । बरामद लागूऔषधको अन्तराष्ट्रिय मूल्य ६ अर्ब ८६ करोड रुपैयाँ भएको भारतीय अधिकारीको भनाई छ । 

भारतीय सञ्चारमाध्यमले लागूऔषध कारोबारी केही दिन अघि सम्म कँडेलसँगै देखिएको र उनैले संरक्षण गरिरहेको भन्दै कँडेलसँगको तस्विर समेत राखेर समाचार प्रकाशन र प्रसारण गरेका हुन् । कँडेलसँग भारतीय नागरिकता र रासन कार्ड समेत भएको आरोप लाग्दै आएको छ । 

भारत सरकारले मष्ट वाण्टेडको सुचीमा राखेर खोजी गरिरहेका गुप्ता नवलपरासी आसपासको क्षेत्रमा लुकेर बसेको भारतीय प्रहरीले समेत दावी गर्दै आएको छ । गोवीन्दको खोजीमा जुटेको भारतीय प्रहरीले उनको घरबाट उनका सहोदर भाइ रमेश गुप्ता रौनियारलाई पक्राउ गरेको छ ।