काठमाण्डौ  / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठ स्थित निवास अगाडि आफ्नै दलका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

पार्टीको १४ औं महाधिवेशन घोषित समयमा नै गर्न माग गर्दै सबल कांग्रेसका लागि हाम्रो अभियानमा आवद्ध नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कांग्रेसका सातै प्रदेशका नेता तथा कार्यकर्ता प्रदर्शन र धर्नामा सहभागि रहेका छन् । प्रदर्शनकारीले नेपालको संविधान र पार्टी विधान देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम रहेको जनाएका छन् ।  प्रधानमन्त्री निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक रहेकै दिन उनीहरूले घोषित मितिमा नै महाधिवेशन गर्न माग गर्दै प्रदर्शन र धर्नामा बसेका हुन् । 

यसैबीच बैठकमा सहभागि हुन नेताहरू बूढानिलकण्ठ पुग्ने क्रम सुरु भएको छ । देउवा निवास बाहिर भने कांग्रेसका नेता तथा कार्यकर्ता प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।  

समयमा नै महाधिवेशन  गर्न दवाव दिनका लागि प्रदर्शन गरिएको कांग्रेसका युवा नेता रञ्जित कर्णले बताएका छन् । उनले जथाभावी वितरण गरिएको क्रियाशील सदस्यता पनि खारेज गर्न माग गरेका छन् । 

कांग्रेसको विधान अनुसार देउवाको कार्यकाल आगामी भदौ २३ गते सकिँदैछ। आज बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि जनाउँदै उनीहरूले धर्ना र प्रदर्शन गरेका हुन् ।