सप्तरी // सप्तरीमा नेपाली सेनाको गाडी र पिकअप भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

OM Sai Pathibhara Hospital

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको गाडी हनुमाननगर–कंकालिनी -१ भारदहमा  विपरीत दिशाबाट जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडीसंग ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताएका छन् ।

दुर्घटनामा पिकअपका सह-चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५२ वर्षीया भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत जमदार जीवन गिरी घाइते भएका छन् ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।