इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले ऐलानी जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्दै यामप्रसाद ढकाललाई कार्यालयमा थुनिदिएका छन् ।

इटहरी ४ का ढकालले ऐलानी जग्गा र पैनी मिचेर घर बनाएको भन्दै  नगरपालिकामा बोलाएर प्रशासकीय अधिकृतको कोठामा लगेर थुनिदिएका हुन् । चौधरीले बुधवार बिहान नगर प्रहरी पठाएर ढकाललाई नगरपालिकामा ल्याएका थिए ।

OM Sai Pathibhara Hospital

ढकाललाई थुनेको विषयलाई लिएर नेपाली कांग्रेसले आपत्ति प्रकट गर्दै नगरपालिकामा तालाबन्दी गरिदिएको छ । मेयर भएको समय देखि नै आफूलाई मन लागेको समयमा उनले सार्वजनिक जग्गाको विषयमा उदण्डपन देखाउँदै आएका छन् ।

सार्वजनिक जग्गा खोजीका नाममा उनले समयसमयमा गर्ने प्रचारात्मक हर्कत प्रति आपत्ति जनाउँदै कांग्रेस कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरिदिएको हो ।

विधि प्रक्रिया मिचेर मेयर चौधरीले उदण्ड व्यवहार जारी राखेको भन्दै मेयर चौधरीकै कार्यकक्षमा उनीहरूले तालाबन्दी गरिदिएका हुन् । काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले मेयरको उदण्डपनले सिमा नाघेको भन्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

यसैबीच मेयर चौधरीले बन्धक बनाएका ढकालको प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीले ढकाललाई बेलुका ५ बजे थुना मुक्त बनाएको हो ।