विराटनगर / एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा उनको आर्थिक सल्लाहकार रहेका उद्योगी मोतीलाल दुगड नुनको अवैध कारोबारमा संलग्न रहेको भन्दै कारवाहीको माग गर्दै  उनीमाथि उजुरी परेको छ ।

OM Sai Pathibhara Hospital

पूर्व उद्योग राज्यमन्त्री समेत रहेका दुगडमाथि कारवाहीको माग गर्दै  राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित रुपमा नै उजुरी दिएको हो ।

ओलीको संरक्षणमा अवैध रुपमा दुगडको लगानी रहेको दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा कारोबार गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।

दुगडको कम्पनीले एक सय ग्रामलाई नै उपभोक्ताको ढाड सेक्ने गरी ३५ रुपैयाँ लिएर बिक्री गर्दै आएको छ । प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमा दुगडले खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति नलिई कारोबार गरिरहेको दावी समेत गरिएको छ । उजुरीमा विभागका अधिकारीमाथि पनि कारवाहीको माग गरिएको छ ।

मञ्चले दुगड विरुद्ध यसअघि पनि ओली प्रधानमन्त्री रहेको समयमा कारवाहीको माग गर्दै उजुरी दिएको थियो । प्रधानमन्त्रीकै सल्लाहकार रहेका उनीमाथि सो समयमा कारवाही नभएपछि सरकार परिवर्तनको मौका छोपेर मञ्चले फेरि उजुरी दिएको हो ।

सरकारले आयोडिनयुक्त नुनको उत्पादन, भण्डारण तथा बिक्री वितरणको लागी साल्ट ट्रेडलिंक कर्पोरेसनलाई मात्रै अधिकार दिएको छ ।