बिर्तामोड / नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै गच्छादारले ललिता निवासको सरकारी जग्गाको नाममा आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरि अख्तियारले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, – ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छर ? मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धी मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन सो विषयमा । तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’

गच्छादारले आफूले संविधान लेखनमा महत्त्वपूर्ण योगदान पुर्याएको तर तत्कालीन राज्यले संविधानकै आडमा आफूमाथि दुश्मनी साँध्ने काम गरेको भन्दै आक्रोश पोखेका छन् । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए ।