काठमाडौँ / लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री पोखरेल विरुद्ध नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।
सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकोले धेरै नबोल्ने भन्दै कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । एमाले संसदीय दलको बुधबार बसेको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने संकेत गरेको थियो ।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
कांग्रेस, माओवादी, जसपा , राजमो सहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।