काठमाडौं / केपी शर्मा ओली प्रधानमन्त्री भएयता पछिल्लो चार वर्ष अवधिमा नेपालको सार्वजनिक ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ भएको छ।

OM Sai Pathibhara Hospital

मंगलबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको विवरण प्रस्तुत गर्दै सरकारले ऋण करिब साढे १० खर्बले बढाएको जनाएका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब अर्थात कुल गार्हस्थ्य उत्पादनको २२.७ प्रतिशत रहेको थियो । यस्तो ऋण गत आर्थिक वर्ष २०७७/७८ मा २५० प्रतिशतले वृद्धि भई १७ खर्ब २९ अर्ब अर्थात कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । कुल तिर्न बाँकी ऋणमध्ये ९ खर्ब २८ अर्ब बाह्य र ८ खर्ब १ अर्ब आन्तरिक ऋण रहेको शर्माले जनाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक ऋण २ खर्ब २४ अर्ब र वैदेशिक ऋण १ खर्ब ४० अर्ब गरी जम्मा ३ खर्ब ६४ अर्ब रुपैयाँ अर्थात कुल संघीय खर्चको ३०.८ प्रतिशत परिचालन भएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार सम्ममा नेपालको जनसंख्या ३ करोड ४ लाख २८ हजार बराबर रहेको र कूल सरकारी ऋणलाई रहेक व्यक्तिमा भाग लगाउँदा एक जना बराबर करिब ५६ हजार ८२२ रुपैयाँ ऋण रहेको छ ।