काठमाडौँ / केपी शर्मा ओली नेतृत्वको सरकारले योग्यता नै नपुगेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको खुलेपछि अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा चासो देखाउँदै छानविन थालेका छन् । राष्ट्र बैंक ऐन मिचेर अधिकारीलाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको खुलेपछि मन्त्री शर्माले उनको विषयमा छानविन अघि बढाएका हुन् ।
मन्त्री शर्माले छानविन थालेपछि यस आर्थिक वर्षको मौद्रिक निती समेत प्रभावित बनेको छ । कारवाही हुने सम्भावना देखिएपछि गभर्नर अधिकारी मौद्रिक नितीलाई थाती राखेर आफ्नो पद जोगाउन सकृय बनेको राष्ट्र बैंक स्रोतले जानकारी गराएको छ । ओली नेतृत्वको सरकारले गत चैत्र २४ गते उनलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो समयमा अधिकारी प्रधानमन्त्री नै अध्यक्ष रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
मन्त्री शर्माको निर्देशनमा अर्थ मन्त्रालयले छानविन अघि बढाएपछि उनले स्नातक मात्रै गरेको पाइएको छ । प्रविणता प्रमाणपत्र तह अध्ययन गरी राष्ट्र बैंकमा सहायक पदबाट सेवा आरम्भ गरेका उनले सेवामा नै रहेको समयमा भारतबाट तिन वर्षे चार्टर एकाउन्टेन्ट कोर्स गरेका थिए । जसलाई नेपालमा स्नातक सरह मात्र मानिने गरेको छ । स्नातक गरेर चार्टर एकाउन्टेन्ट गरेको अवस्थामा मात्रै स्नातकोत्तर सरह मानिन्छ ।
राष्ट्र बैक ऐनमा गभर्नर नियुक्तिका लागि स्नातकोत्तर गरेको हुनु पर्ने कानुनी व्यवस्था रहेको छ ।