काठमाडौं / एमालेको आन्तरिक कलह हल गर्नका लागि अहिले सम्म भएका प्रयास सफल नहुने भएपछि माधव नेपाल समूह नयाँ पार्टी निर्माणको दिशातर्फ अग्रसर बनेको छ । पार्टी एकताका लागि बनेको कार्यदलले बैठक रोक्नका लागि गरेको आग्रह ओली पक्षले अस्वीकार गरेपछि एकता प्रकृया हालका लागि स्थगन भएको हो ।
पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाउने र अध्यक्ष इतरको समूहलाई पदाधिकारीमा जान नै नसक्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेपछि एकता प्रकृया स्थगन भएको हो । एकताको प्रयास जारी राखेकै समयमा सोमबार सम्पन्न माधव समूह बाहेकको पार्टीको बैठकले दूरगामी महत्वका निर्णय गरेपछि माधव नेपाल समूह फरक पार्टी निर्माणको बाटोमा अग्रसर बनेको हो ।
गत साउन २१ र २२ गते सम्पन्न माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकले ओलीका कारण एकताको सम्भावना अन्त्य भएको ठहर गरेको थियो । बैठकमा सहभागि अधिकांश नेताले यथास्थितिमा हुने एकता ‘एकता नभएर आत्मसमर्पण’ हुने धारणा राखेका थिए ।
बैठकमा नेता राजेन्द्र पाण्डे , मेटमणि चौधरी , हिराचन्द्र केसी, रामकुमारी झाँक्री र निरा जैरु लगायतले ओली नेतृत्वमा नै राखेर एकता गर्न नहुनेमा जोड दिएका थिए । उनीहरूले माधव नेपाल समूहका नेता समेत रहेका एकता कार्यदलका सदस्य भिम रावल सहितको भूमिका माथि समेत प्रश्न उठाएका थिए ।