बिर्तामोड / सरकार परिवर्तनसँगै फेरि पनि सरकारमा सहभागि दलका नेताले बेथिति र भ्रष्टाचारमा संलग्नहरूलाई नै छानिछानी सरकारी निकायमा लगेर कारवाहीको सट्टा पुरस्कृत गर्न थालेका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायी उमेश श्रेष्ठलाई शेर बहादुर देउवा प्रधानमन्त्री बने लगत्तै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ । ललितपुरको गोदावरीमा रहेको योगेन्द्र बहादुर विष्ट परिवारको ४०० रोपनी जग्गा हडपेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा उनलाई नियुक्त गरेको भन्दै देउवाको आलोचना भइरहेको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा कायम बेथितिका विरुद्ध लामो सयम देखि आन्दोलनरत डा. गोविन्द केसीले श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै सत्याग्रहमा नै बस्ने घोषणा गरेका छन् ।

देउवा नेतृत्वको सरकार बने लगत्तै शिक्षा सेवा आयोगमा पनि त्यसैगरी भ्रष्टाचारमा सजायको सिफारिस भएका व्यक्तिलाई नै संघीय सरकारले नियुक्त गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले डिल्लीराम रिमाललाई शिक्षा सेवा आयोगमा नियुक्त गरेको थियो । १५ वर्ष अघि जिल्ला शिक्षा अधिकारी भएको समयमा रिमालले आफ्नै भाइलाई नियुक्त गर्न प्रश्नपत्र बनाउने र परिक्षण गर्ने काम गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेको थियो ।

त्यसैगरी कांग्रेसका नेता एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार र विकास मन्त्री रामसरोज यादव समेत भ्रष्टाचारमा संलग्नलाई नियुक्ति दिएको विषयलाई लिएर आलोचनामा तानिएका छन् । मन्त्री यादव मन्त्रालयको सल्लाहकारमा अख्तियार दुरुपयोग गरेको अभियोगमा सजाय पाएका जीवनाथ चौधरीलाई नियुक्त गरेको विषयलाई लिएर आलोचनामा तानिएका हुन् ।

चौधरी तत्कालीन धनुषा जिल्ला  विकास समितिको लेखापाल रहेको समयमा भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भएको थियो । भ्रष्टाचार प्रमाणित भएपछि उनले चार मैना कैद र ७ लाख रुपैयाँ जरिवाना समेत तिरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेलामा भएका गिरीबन्धु टि स्टेटको जग्गा प्रकरण , स्वास्थ्य सामाग्री खरिद अनियमितता र यति समूहलाई सरकारी सम्पत्ति सुम्पने लगायतका दर्जनौँ घटना सेलाउन नपाउँदै नयाँ सरकार पनि त्यही दिशामा अघि बढेको संकेत देखिन थालेको छ ।

बेथिति र भ्रष्टाचारको विषयले आम जनता निराश बनेको समयमा भएको सरकार परिवर्तन पछि थोरै भएपनि सुधारको आसा अनि अपेक्षा गरिएको थियो । तर सरकार बनेको महिना दिन पनि नवित्दै देखिएका घटनाले फेरि पनि पुरानै सरकार अनि पुरानै हर्कत दोहोरीने सम्भावना बढेर गएको छ ।