बिर्तामोड / शिक्षा एवं स्वास्थ्य क्षेत्रका व्यवसायी नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ माथि काठमाण्डौको गोदावरी नगरपालिकामा रहेको करोडौं मूल्यको जग्गा हडपेको आरोप लागेको छ । 

स्वं– लालध्वज विष्ट परिवारको नाममा रहेको ४०० रोपनी जग्गा राज्य मन्त्री श्रेष्ठले सरकारी अधिकारीको मिलेमतोमा कब्जा गरेको आरोप लागेको हो ।

OM Sai Pathibhara Hospital

विष्ट परिवारका सदस्य योगेन्द्र बहादुर विष्टले आफूहरू जग्गा बिक्रीका लागि तयार नभएपछि श्रेष्ठको समूहले सरकारी अधिकारी र मोहिसँगको मिलेमतोमा जग्गा हडपेको आरोप लगाएका हुन् । 

गोगेन्द्रका हजुरबुबा लालध्वज विष्टको नाममा ०२१ सालमा दर्ता भएको जग्गा किर्ते कागजात तयार पारी श्रेष्ठ समूहले हत्याएको उनले दावी गरेका छन् ।

साविक किटनी गाविसको वडा नम्बर ५, ६ र ७ हालको ललितपुरको गोदावरी नगरपालिकामा रहेको करोडौं मूल्यको जग्गा श्रेष्ठको समूहले जालसाँझी गरी आफ्नो नाममा बनाएको विष्ट परिवारको दावी छ ।

श्रेष्ठ संघीय सरकारका राज्यमन्त्री बने लगत्तै उनले धनाढ्य बन्न गरेको अपराध सार्वजनिक भएको हो । विष्ट परिवारबाट श्रेष्ठ समूहले हत्याएको जग्गा फिर्ताका लागि अहिलेपनि योगेन्द्र र उनका आफन्त अदालत धाईरहेका छन् । सो जग्गाका विषयमा परेको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन नै रहेको पाइएको छ ।

श्रेष्ठ समूहले  ०५३ सालमा सो जग्गा ८ करोड रुपैयाँमा खरिदका लागि प्रस्ताव गर्दा २० प्रतिशत कमिसन मागेको र कमिसन दिन तयार नहुँदा सरकारी अधिकारीसँगको मिलेमतोमा जग्गा आफ्नो नाममा बनाएको विष्ट परिवारको भनाई छ ।

जिल्ला मालपोत कार्यालय ललितपुरमा विष्ट परिवारका सदस्यले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए ।

मालपोत कार्यालयले समेत जग्गाधनी पुर्जा विष्ट परिवारका सदस्यलाई दिन भन्दै हकदाबी सम्बन्धी ३५ दिने सूचना नै जारी गरेको थियो । तर सोही समयमा नै मालपोतका कर्मचारीसँगको मिलेमतोमा श्रेष्ठ समूह सो जग्गा आफू निकटका व्यक्तिका नाममा लान सफल भएको योगेन्द्रले जानकारी गराएका छन् ।

आफ्नो पुर्खौली दम्पती अन्य व्यक्तिको नाममा पुगेको थाहा पाएपछि विष्ट परिवारका सदस्यले सो विषयमा तत्कालीन पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए ।

पुनरावेदनमा दायर मुद्दामा समेत श्रेष्ठ समूहले आफ्नो तर्फका वकिललाई नै बहसका दिन उपस्थित हुन नदिएर मुद्दा हराएको योगेन्द्रले बताएका छन् ।

उनले उच्च अदालतमा मुद्दा हराउनका लागि श्रेष्ठ समूहले चर्चित अधिवक्ता शम्भु थापा , हरिहर दाहाल , टिकाराम भट्टराई र रामकृष्ण तिमल्सिना लगायतलाई प्रयोग गरेको समेत जानकारी गराएका छन् ।

अहिले सर्वोच्च अदालतमा चलिरहेको सो जग्गा सम्बन्धी मुद्दामा श्रेष्ठ समूहले शक्ति केन्द्र , सरकारी अधिकारी र न्यायालय प्रभावित पार्न सक्ने भन्दै विष्ट समूहले पुर्खौली सम्पतीको सुरक्षाका लागि सहयोगको अपिल समेत गरेका छन् ।