बिर्तामोड / पछिल्लो समय प्रदेश एकमा आत्महत्याका घटना बढ्न थालेको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रदेश एकमा आर्थिक वर्ष २०७७ ०७८ मा एक हजार पाँच सय सोह्र जनाले आत्महत्या गरेका छन् ।

अन्य प्रदेशहरूको तुलनामा प्रदेश एकमा सबै भन्दा बढी आत्महत्याका घटना हुने गरेका छन् । 

OM Sai Pathibhara Hospital

प्रदेश एकमा दैनिक सरदर पाँच जनाले विभिन्न माध्यमबाट आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी आत्महत्या गर्नेको जिल्लामा झापा पहिलो नम्बरमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा झापामा सबै भन्दाबढी आठ सय ५१ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी मोरङमा आठ सय दुई जनाले आत्महत्या गरेको छन् । यसमध्ये सबैभन्दा वढी विष सेवन गरेर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पुरुषले भन्दा वढी महिलाहरूले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने मध्ये ४५ प्रतिशत १५ वर्ष देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन् । ८० प्रतिशत आत्महत्या डिप्रेसन, १० प्रतिशत मनोरोग र बाँकी अन्य कारणले हुने गरेको छ । 

गएको आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश १ मा एक हजार दुई सय ३४ जनाले आत्महत्या गरेका थिए । त्यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा एक हजार तीन सय ४४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । यो क्रम हरेक वर्ष बढ्ने क्रममा रहेको छ। 

केन्द्रीय प्रहरी कार्यालयका अनुसार  २०७७/०७८ मा मुलुकभर छ हजार चार सय २९ जनाले आत्महत्या गरेका छन्। यो आर्थिक वर्षमा सबैभन्दा बढी प्रदेश –१ मा १ हजार पाँच सय १६ जनाले आत्महत्या गरे जुन नेपालको कुल आत्महत्याको २१.२ प्रतिशत हो। 

त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५८ जना (१९.२ प्रतिशत), वाग्मती (उपत्यकाका तीन जिल्ला बाहेक)मा ९ सय ९४ जना (१४.९ प्रतिशत) ले आत्महत्या गरेका छन्।

त्यसैगरी प्रदेश –२ मा १३ प्रतिशत अर्थात् ८ सय ६१ जना, सुदूरपश्चिम प्रदेशमा ७ सय ११ (९.७ प्रतिशत), गण्डकी प्रदेशमा ६ सय १३ (९.२ प्रतिशत) र कर्णाली प्रदेशमा ३ सय ६९ (५.१ प्रतिशत) छ । 

काठमाडौँ उपत्यकामा मात्रै देशभर भएका कुल आत्महत्याको ७.७ प्रतिशत अर्थात् ५ सय १६ रहेको छ।