काठमाडौँ / बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । 

यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमान्डमा १ सय २८ सेना परिचालित थिए भने सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरिएको थियो ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । एक अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालनमा रहेको नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । 

तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि के कति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । 

नेबिको प्रालिका ब्रान्ड मेनेजर अरुण पौडेल अहिलेसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले के कति क्षति भयो भन्नेबारे यकिन तथ्याङ्क निकाल्न नसकिएको बताएका छन् । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको हो । 

सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिज लगायतका सामग्री उत्पादन गर्दै आएको थियो ।