बिर्तामोड / नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकार सञ्चालनमा कमजोर देखिएका छन् ।
सरकार गठन भएको झण्डै एक महिना सम्म मन्त्रीपरिषद विस्तार गर्न नसकेका गठबन्धन सरकारको नेतृत्व गरेका देउवालाई सचिव सरुवामै अर्काे सकस परेको छ ।
गृह मन्त्रालयको सचिव सरुवामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले वरिष्ठ नेता माधव नेपाल, गृह मन्त्री बालकृष्ण खाँड र देउवा पत्नी आरजु राणाबीच विवाद भएपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । गृह मन्त्रालयमा अहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश्वर न्यौपाने छन् ।
प्रधानमन्त्री देउवाकी श्रीमती आरजु राणाले पनि गृह मन्त्रालयमा पठाउने सचिवका बारेमा चासो राखेकी छिन् । उनले केही सचिवहरूको लिस्ट र मन्त्रालय तोकेर सोहीअनुसार गर्न प्रधानमन्त्री देउवालाई दवाव दिंदै आएकी छिन् ।
बालुवाटार निकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामकृष्ण सुवेदी, एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पर्यटन मन्त्रालयका सचिव यादव कोइराला र गृह मन्त्री बालकृष्ण खाँडले भूमिसुधार मन्त्रालयका सचिव टेकप्रसाद पाण्डेलाई गृह सचिव बनाउने अडान राखेका छन् ।
प्रधानमन्त्री देउवा र उनको सचिवालयले गृहको अनुभव नै नभएका पाण्डेलाई गृहमा लैजान नहुने तर्क गर्दै आएका छन् । देउवाले भने प्रदेश नं २ का मुख्य सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिवमा लैजाने रुचि देखाएका छन् ।
पार्टीको महाधिवेशन, आगामी निर्वाचन समेतलाई ख्याल गरेर गृह सचिवको छनौट हुनुपर्नेमा देउवा निकट नेताहरूको दवाव रहेको सचिवालय स्रोतले जनाएको छ ।