बिर्तामोड / लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबरजस्ती हस्ताक्षर गराइएको बताएकी छिन् ।
वलीले बिहीबार पत्रकार सम्मेलन गरी सो कुरा बताएकी हुन् । उनले आफू माओवादी केन्द्रमै रहेको समेत बताएकी छिन् ।
वलीले आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिई जबर्जस्ती एमालेमा रहेको बेहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी छन् ।
‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’
त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाइका साथ मुख्यमन्त्री निवासमै राखिएको उनले बताइन् ।
२० गते बिहान आफूलाई असह्य पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् ।