सुर्खेत / जाजरकोटको जुनीचाँदे गाउँपालिका –२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोपमा वडाध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।

पाण्डेले भने – ‘वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं ।’

नेपालीले यो भन्दाअघि जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई पनि कुटपिट गरेको स्थानियको भनाइ छ ।