वीरगञ्ज / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले १५३ फर्मलाई ४५ लाख रुपैयाँ जरिवाना गरेको छ । कर छली, कालो बजारी तथा इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई जरिवाना गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारवाही गरी ४५ लाख ४३ हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना गरिएको मध्ये सबैभन्दा बढी वीरगञ्जस्थित एसआर रेडिमेड उद्योग रहेको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाएको पाइएकाले उक्त उद्योगलाई जरिवाना गरिएको हो।

OM Sai Pathibhara Hospital

त्यसैगरी, वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सलाई दुई लाख ५१ हजार रुपैयाँ र माई स्थान चोकमा रहेका गगन ट्रेडिङ हाउसलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ । उक्त फर्मले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आएको पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरी कारवाही गरिएको कार्यालय प्रमुख जितबहादुर भण्डारीले जानकारी दिएका छन् ।

नेपालभर रहेका वाणिज्य कार्यालयमध्ये सबैभन्दा बढी राजस्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी दिएका छन् ।