काठमाडौँ / महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सांसदहरुले सरकारसँग आग्रह गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका हुन् ।
बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गरिन् ।
उनले धामीको खोजीका लागि पहल गर्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिन् । देवकोटाले आफ्नै भूमि भएर सदरमुकाम आवतजावत गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिन् ।
लामो समय हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको प्रति गुनासो राख्दै उनले वर्तमान सरकारबाट जनताले परिणाम खोजेको बताइन् ।
कांग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले प्रतिपक्षी दलबाट आएको अभिव्यक्ति प्रति इङ्गित गर्दै सरकार कुन आधारमा निर्दलीय सरकार भयो भनी प्रतिप्रश्न गरे । उनले संसद्बाटै बहुमतको आधारमा विश्वासको मत प्राप्त सरकार भएको स्पष्ट पारे ।
सांसद रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षमा तुइन विस्थापित गर्ने घोषणा घोषणामै सीमित रहेको बताए। उनले अझै धेरै ठाउँमा तुइन यथावत रहेको र महाकालीमा मात्रै सातवटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराए । सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीले दार्चुलाको महाकाली नदीमा भएको घटनाका विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन् । भारतसँगको उच्चस्तरीय वार्तामार्फत समस्या समाधान गर्न पनि अछामीले सरकारसँग माग गरे ।