काठमाडौँ / काठमाडौँको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । नागार्जुन नगरपालिका –३ मा रहेको लिच्छविकालीन इचङ्गुनारायण मन्दिरबाट मङ्लबार राति मूर्तिहरू चोरी भएका हुन् । 

पूजारी श्रीमद् राजोपाध्याय बुधबार बिहान मन्दिरमा पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति मन्दिरमा थिएनन् । मन्दिरमा मूर्ति नपाइएपछि चोरी भएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । 

OM Sai Pathibhara Hospital

श्रेष्ठका अनुसार मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् । 

दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्लो तलाबाट छिरेको हुनसक्ने महानगरी प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । माथिल्लो तलाको ग्रिल फोरेर तल्लो तलामा झरी मूर्ति चोरी गरिएको घटनाका विषयमा थप अनुसन्धान भइरहेको वृत्तका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए । 

मन्दिरमा रहेका सुनचाँदीका माला भने त्यहीँ भेटिएको उनले बताए । पहिला पनि दुई पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् । पहिलो पटक चोरी हुँदा चोर समातिएको थियो । दोस्रो पटक मूर्ति नभेटिएपछि नयाँ मूर्ति बनाएर राखिएको थियो । त्यसबेला मूर्तिसँगै मन्दिरका दुई टुँडाल पनि चोरी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । 

भक्त वाइके पाण्डे र सूर्यमान श्रेष्ठले इचङ्गुनारायण मूर्तिको वरिपरि राख्ने गरी करिब आठ मूर्ति चढाएका थिए । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिर भए पनि सुरक्षाको व्यवस्था हुन नसक्दा पटकपटक चोरी हुने गरेको स्थानीयवासीको भनाई रहेकाे छ ।