धरान / कोभिड –१९ संक्रमण तीब्र रुपमा बढेको भन्दै धरानमा १५ दिनसम्म कडा लकडाउन गर्न धरानका विभिन्न राजनीतिक दलहरूले अनुरोध गरेको छ ।

महामारी नियन्त्रण भन्दा बाहिर जाने खतरा भएकाले संक्रमण फैलिन नदिन दलहरूले कडा लकडाउन गर्न उपमहानगरपालिकालाई अनुरोध गरेको हो । 

OM Sai Pathibhara Hospital

दलहरूले लकडाउन गर्न अघि २ दिनसम्म खाद्यान्न सामग्रीहरू खरिद गर्ने समय उपलब्ध गराउन पनि सुझाव दिएको छ ।  राजनीतिक दलहरूले मंगलबार मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई संयुक्त रुपमा सुझावसहित अनुरोध गरेको हो । 

धरानमा कोभिड –१९ को महामारी बढेको हुनाले संक्रमण फैलिन नदिन लकडाउन गर्न उपमहानगरपालिकालाई सुझाव दिइएको एमाले नेता नारायण सुवेदीले बताएका छन् । 

उनले भने, ‘चेक ब्रेक गर्नको लागि लकडाउन गर्नुपर्छ भनेर सुझाव दिएको हो । मेयर, उपमेयरले उहाँहरूले नकारात्मकरूपमा नै लिनुभयो । अहिले खोप कार्यक्रम भएकोले २२ गतेपछि ठोस निर्णय गर्ने भन्नु भयो ।’