बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागमा सरकारी अधिकारी र झापाली प्राथमिकता दिएको भन्दै पार्टी भित्रै असन्तुष्टि बढेको छ ।
विभागमा विवादास्पद मानिएका सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेललाई नै राखिएको र ९ वटा विभागमा तीनवटाको नेतृत्वमा झापाली नेता नै रहेको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको हो ।
एमालेको पर्यटन विभागमा नियुक्त गरिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल माथि निगम निजीकरण गर्न ८० अर्बको सम्पत्तिलाई ५० अर्ब मात्रै मूल्यांकन गराएर ३० अर्ब देशलाई नोक्सान पुर्याउन खोजेको आरोप लाग्दै आएको छ ।
पार्टी अध्यक्ष ओलीले स्कुल विभागको नेतृत्व आफैले लिएर आफ्नै निर्वाचन क्षेत्र रहेको झापाको गैराहदका अग्नि खरेललाई निर्वाचन विभागको प्रमुख बनाएका छन् । खरेललाई उनले यसअघि पनि आफू प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता बनाएका थिए ।
त्यसैगरी आफ्नै जिल्लाका अर्का नेता देवेन्द्र दाहाललाई पनि ओलीले स्थानीय तह विभाग प्रमुख बनाएका छन् ।
ओलीले आफ्नो नेतृत्वमा सरकार भएको समयमा पनि आफ्नै जिल्लाका लागि अवसर दिएको र अहिले पनि पार्टी भित्रका जिम्मेवारीमा पनि आफु निकट अनि आफ्नै जिल्लाका लाई प्राथमिकता दिएको भन्दै ओली समुह भित्रै खटपट सुरु भएको एमालेका एक नेताले जानकारी गराएका छन् ।