काठमाण्डौ / प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा देशभर लोडसेडिङ बढेको लगायतका कारण देखाउँदै नागरिकको समस्या समाधानका लागि कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकटका वर्तमान निर्देशक हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरी उनको स्थानमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशन पाए लगत्तै मन्त्रालय पुगेर भुसालले शाक्यलाई बोलाएर राजिनामा नदिए कारवाही प्रकृया सुरु गरी बर्खास्त गर्ने चेतावनी दिएकी छन् ।
भुसालले शाक्यले घिसिङको नियुक्ति रोक्न खोजे सरकारसँग गरेको कार्यसम्पादनको सम्झौता अनुसार काम गर्न नसकेको कारण देखाउँदै बर्खास्त गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
भुसालले मन्त्रालयका अधिकारीलाई जनताको चाहना र प्राधिकरणको आवश्यकताकै कारण घिसिङलाई नियुक्त गर्न प्रकृया आरम्भ गरिएको बताएकी छन् ।