बुटवल / लुम्बिनी प्रदेश प्रमुख फेरिए लगत्तै प्रदेश सरकार फेरबदलको खेल सुरु भएको छ । एमालेको ओली समुहका प्रभावशाली नेता समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सो समयमा सत्ताको दुरुपयोग गर्दै प्रकृयामा जानु अगावै मुख्यमन्त्रीबाट पोख्रेलले राजिनामा दिएर असंवैधानिक रुपमा मुख्य मन्त्रीमा पुन नियुक्त हुन सफल भएका थिए ।

मंगलबार विपक्षी गठबन्धनका ३४ सांसदले मुख्यमन्त्री  पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी गराएका छन् ।

सोमवार विपक्षी गठबन्धनका नेताले प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरी मुख्यमन्त्री पोख्रेल विरुद्ध लिखित निवेदन दिएका थिए । निवेदनमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरिएको थियो ।