काठमाण्डौ / वेवारिसे शव व्यवस्थापनका लागि भनेर नेपाल प्रहरीका लागि विनियोजित बजेटमा व्यापक अनियमितता हुने गरेको आशंका गरिएको छ ।

सरकारले शव व्यवस्थापनका लागि प्रहरी कार्यालय मार्फत खर्च गर्ने गरी वार्षिक रुपमा बजेट विनियोजन गर्ने गरेको छ । तर प्रहरी कार्यालयहरूले भने सामाजिक संघ–संस्थाको सहयोग मागेर उनीहरूकै खर्चमा शव व्यवस्थापनको काम गर्ने गरेको पाइएको छ ।

शव व्यवस्थापनको काम गर्दै आएकी सपना रोक्का मगर लगायतले प्रहरीले लिखित रुपमा नै आग्रह गरेपछि आफ्नै संस्था या अन्यबाट सहयोग जुटाएर शव व्यवस्थापन गर्ने गरेको सञ्चारमाध्यमलाई बताउने गरेका छन् ।

उनीहरूले आफ्नै खर्चमा शव व्यवस्थापन गर्ने गरेको सार्वजनिक रुपमा बताउन थालेपछि सरकारले शव व्यवस्थापनका लागि नेपाल प्रहरीका लागि वार्षिक रुपमा छुट्याउँदै आएको बजेटमा अनियमितता भएको आशंका गरिएको हो ।

आर्थिक वर्ष ०७७/०७८ का लागि बजेटमा नेपाल प्रहरी  मार्फत वेवारिसे शव व्यवस्थापनमा खर्च गर्ने गरी २ करोड ३१ लाख ४२ हजार रुपैयाँ विनियोजन गरेको थियो । यस आर्थिक वर्षका लागि पनि सरकारले २ करोड ७ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

गत आर्थिक वर्षमा प्रहरीकै तथ्याङ्क अनुसार देशभरमा ३ सय ३२ वेवारिसे शव फेला परेको देखिन्छ । फेला परेका शव व्यवस्थापनका लागि विनियोजन भएको बजेटका हिसाबमा एउटा शव व्यवस्थापनका लागि ६९ हजार ७ सय रुपैयाँ पर्न जान्छ ।

तर पनि देशभर भेटिएका वेवारिसे शव व्यवस्थापनका लागि प्रहरीले शव व्यवस्थापनमा सकृय व्यक्ति र संघ–संस्थाको सहयोग लिने गरेको पाइएपछि सरकारले छुट्याएको बजेटमा अनियमितता भएको आशंका गरिएको हो ।