पोखरा / लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले ४१ सांसदको हस्ताक्षर पुनः प्रदेश प्रमुखसमक्ष बुझाएका छन्। मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सांसदहरुले हस्ताक्षर बुझाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जना सांसदको हस्ताक्षर बुझाएको नेपाली कांग्रेसका नेता प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
चौधरीले भने – ‘ हामीले ६८ (२) को प्रक्रिया थालनी तत्काल गर्न माग गरेका छौं।’ मुख्यमन्त्री पोखरेल अल्पमतमा रहे पनि उनले एकल बहुमतको सरकारको नेतृत्व गर्नु आफैँमा संविधान र कानुनको बर्खिलाप भएको चौधरीले जिकिर गरे।
प्रदेश प्रमुखलाई बुझाएको हस्ताक्षरमा पहिले माओवादी केन्द्र रोजे पनि अहिले आएर फेरि एमालेमा प्रवेश गरेकी विमला खत्री वलीले पनि हस्ताक्षर गरेकी छिन् ।
गत उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित वलीले यसअघि दिएको निवेदनलाई आधार मानेर हस्ताक्षर बुझाइएको चौधरीले तर्क गरे।
चौधरीले मुख्यमन्त्री पोखरेल एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेको हुँदा उनी अल्पमतमा रहेको र बहुमतीय प्रक्रिया शुरु हुनासाथ स्वतः पदमुक्त हुने दाबी गरे।