नवलपुर / नवलपुरको मध्यबिन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी गर्न मिल्ने व्यवस्था शुरु गरेको छ । आइतबार मध्यबिन्दु – १५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । 
इ-सेवासँग सम्झौता गरेर शुरु गरिएको नगरवासीले घरमै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न मिल्ने र नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु पर्ने झन्झट नपर्ने मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिएका छन् । अनलाइन व्यवस्था शुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिएको उनको भनाइ छ ।

विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगर उपप्रमुख ओमकुमारी महतोले जानकारी दिएकी छिन् । अनलाइन प्रणाली शुरु गर्न करदाताले वडा कार्यालयमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिने महतोले जानकारी दिएकी छिन् ।