बिर्तामोड / खोप दुरुपयोगमा संलग्न बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकामा लगाएको ताला सहमतिमा आज खोलिएको छ ।
बिर्तामोडको होटल टाइमलेसमा आफू निकटलाई बोलाएर खोप लगाउने तयारी गर्दै गरेका विवादास्पद पृष्ठभूमिका खड्कालाई नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले रंगेहात समातेपछि उनीमाथि कारवाहीको माग गर्दै विद्यार्थी सङ्गठनले नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए ।
तालाबन्दी खुलाउनका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा ७ बुँदे सहमति भएपछि नगरपालिकाको तालाबन्दी सहमतिमा खोलिएको हो ।
खोप दुरुपयोगको विषयमा छानविन गर्न खोप व्यवस्थापन समितिले बनाएको छानविन समितिले खड्कालाई निलम्बन गरी छानविन थालेकै समयमा सर्वपक्षीय भेलामा सहमति जुटेपछि तालाबन्दी खोलिएको अखिल क्रान्तिकारी झापाले जनाएको छ ।
भेलामा खोप दुरुपयोगमा संलग्न खड्कामाथि कारवाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने , छानबिनमा आवश्यक सहयोग गर्ने , खोपलाई व्यवस्थापन गर्न वडा स्तरीय सर्वदलीय संयन्त्र निर्माण गर्ने , नगरपालिकालाई हालसम्म प्राप्त भएका खोपहरूको विवरण सार्वजनिक गर्ने र कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि भएको आम्दानी अनि खर्च सार्वजनिक गर्ने लगायतका सहमति भएको बताईएको छ ।
भेलामा बिर्तामोडका मेयर धुव्रकुमार सिवाकोटी, प्रदेश सांसद एकराज कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, नेपाली कांग्रेसका भोजराज सिटौला, माओवादी केन्द्रका मोहन सुब्बा, एमालेका उमानाथ ओली, राप्रपाकी , रंन्जु प्याकुरेल, जसपाका तिलबहादुर राई, उद्योग वाणिज्य सङ्घका प्रकाश सिवाकोटी , इलाका प्रहरी कार्यालय अनारमनिका डीएसपी सन्तोष आचार्य सहित विद्यार्थी संघ सङ्गठनका नेता र नगरका जनप्रतिनिधि सहभागि थिए ।