बिर्तामोड / मनसुनी वर्षाका कारण यो वर्ष सडक र पुल लगायतका पूर्वाधारमा २ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

अत्याधिक वर्षाका कारण आएको बाढी, पहिरोबाट देशभर २ अर्ब १६ करोड रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ ।

विभागले देशभर २४ ओटा पक्की पुलमा बाढी तथा पहिरोबाट क्षति पुगेको र ९ वटा पुल बगाएको जानकारी गराएको छ । मेलम्चीमा आएको बाढीले मेलम्चीमा रहेका ५ वटा पुल बगाएको छ ।

बाढी पहिरोबाट देशभरका राजमार्गका १ सय ५३ स्थानमा सडक अवरुद्ध बनेको छ । १ अर्ब  ८० करोड रुपैयाँ बराबरको क्षति अरनिको राजमार्गमा मात्रै  भएको सडक विभागले जनाएको छ ।

बझाङमा अवरुद्ध भएको सडक खोलिएको र लमजुङको बेँसीसहरदेखि मनाङको चामेसम्मको सडक खुलाउने काम जारी रहेको सडक विभागले जानकारी गराएको छ ।

विभागका अनुसार चामे सडक खण्डमा रहेका ५ वटा काठे पुल बगाएको र स्थानीयलाई अस्थायी पुल बनाउन दिइएको छ । सो सडकमा ६५ किमी खण्डमध्ये १३ किमी सडक बनाउन बाँकी रहेको भएपनि सो काम दशैँअघि नै सम्पन्न हुने विभागले जनाएको छ ।