काठमाडौं / नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (शनिबार) दिउँसो ३ बजे बोलाइएको हो ।
आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुनेछ ।
पार्टीको आज बोलाइएको स्थायी कमिटी बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि खबर गरिएको छ । तर, नेपाल पक्ष भने सहभागी नहुने भएको छ ।
पार्टी एकताका लागि बनेको कार्यदलका नेपाल पक्षका सदस्यले भने बैठक सार्न आग्रह गरेका छन् । कार्यदलका सदस्य गोकर्ण विष्टले दिउँसोका लागि बोलाइएको स्थायी कमिटी बैठक अघि एकता कार्यदलको अनौपचारिक बैठक बस्न सक्ने बताएका छन् ।