बिर्तामोड / ‘वा’ शब्द प्रयोग गरेर सरकारले नेकपा एमाले विभाजनको ढोका खोलिदिने भएको छ । विभाजन नजिक पुगेको एमालेका नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सहज बनाइदिन दल विभाजन सम्बन्धित कानुनमा ‘वा’ शब्दको प्रयोग गर्ने सरकारले तयारी गरेको हो ।
राजनीतिक दलसम्बन्धी कानूनले अहिलेकै अवस्थामा माधव नेपालले पार्टी फुटाउने अवस्था नरहेकाले उनलाई सहज बनाइदिन कानुनको सहारा लिने सरकारले तयारी गरेको उच्च स्रोतले जानकारी गराएको छ । सरकारले अध्यादेश ल्याएर अहिलेको कानुनमा ‘वा’ शब्द राखेर पार्टी फुटाउन सहज बनाइदिने भएको हो ।
वर्तमान कानुनअनुसार पार्टी विभाजन गर्नका लागि केन्द्रीय कार्यसमिति र संसदीय दलमा ४०/४० प्रतिशत मत आवश्यक पर्छ । निर्वाचन आयोगमा पेश गरिएको एमालेको केन्द्रीय समितिमा २०३ जना पदाधिकारी तथा सदस्य रहेका छन् । अहिले नेपालको पक्षमा केन्द्रीय कार्यसमितिमा रहेका २०३ जना सदस्यमध्ये ४६ प्रतिशत सांसद रहेको दावी गरिएतापनि संसदीय दलमा भने आवश्यक पर्ने ४० प्रतिशत मत माधव नेपालको पक्षमा छैन ।
माधव नेपालको पक्षमा आवश्यक संख्या अपुग हुने भएपछि विभाजन सम्बन्धी कानुनमा ‘वा’ शब्द प्रयोग गरी पार्टी फुट सहज बनाउने सरकारले तयारी गरेको स्रोतको भनाई छ । यही कानुनी अवरोधलाई सहज बनाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले राजनीतिक दल सम्बन्धी विभाजनको दफामा संसदीय दल ‘वा’ केन्द्रीय कार्यसमिति मध्ये एक मा ४० प्रतिशत आवश्यक भन्ने बनाइदिने भएका हुन् ।