काठमाण्डौ / ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अदालतले सफाइ दिएको भनेर चलेका हल्ला निराधार भएको पाइएको छ ।
बहुचर्चित एवं विवादीत प्रकरणमा जोडिएका उनीहरूले सफाइ पाएको भनेर सामाजिक सञ्जाल र मिडियामा प्रचार सुरु भएपछि सर्वोच्च अदालतले सो विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रचार निराधार भएको जनाएको हो।
अदालतले सो विषयमा रहेको मुद्दा पेशीमा नै नचढेकाले उनीहरूलाई उन्मुक्ति दिएको भनेर भईरहेका प्रचारमा सत्यता नरहेको जानकारी गराएको हो ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहरिएपछि तीन पूर्वमन्त्री सहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले नेता नेपाल र डा. भट्टराईको हकमा भने सोही समयमा नै मुद्दा नचलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेका निर्णय माथि मुद्दा नचलाउने र त्यस्ता विषय अख्तियारको क्षेत्राधिकारमा नपर्ने सो समयमा निर्णय भएको थियो ।
अख्तियारको सो निर्णयका विरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा नेपाल र डा. भट्टराई विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।