वीरगञ्ज / पर्सामा नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका –२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल सोही ठाउँ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल रहेका छन् । 

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट  झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान १० बजे वीरगञ्ज –१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो ।

उनको शरीर तलासी गर्दा उनले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला पारेको थियो ।

नागरिकतामा साविक बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं. ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरुपलाई पनि श्रीपुरबाटै नियन्त्रणमा लिइएको डीएसपी खनालले जानकारी दिए ।

दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।