काठमाडौ / नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै उनिहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट लिएर पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताएका छन् । चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ । उनीहरुले आफू नेकपा एमालेमा आधिकारिकरुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारवाही मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।
उनीहरुले मंगलबार नै रिट दर्ता गर्ने प्रयास गरेपनि मंगलबार रिट दर्ता हुन सकेको थिएन । बुधबार दर्ता गरिएको रिटको पेसी बिहीबारलाई तोकिएको छ ।