रौतहट /  रौतहटमा राहतको चामल गोदाममै कुहिएपछि स्थानीयले देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले नगरपालिका कार्यालय तोडफोड गरेका हुन् । 

असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो ।महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको भन्दै स्थानीयले मंगलबार दिउँसो नगरप्रमुखलाई कार्यालय भित्रै थुनेर ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिकाले खरिद गरेको चामल कुहिएपछि अरुले चाल नपाओस् भनेर मेयर धर्मेन्द्र पटेलले रातिको समयमा खाल्डो खनी पुरेको वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेलले आरोप लगाएका छन् ।

OM Sai Pathibhara Hospital

 महामारीको समयमा दुई हजार परिवारलाई राहत दिएको र बाँकी रहेको चामल भण्डारण गरेर राखिएको थियो । संग्रहालयको झ्याल खुलेका कारण गोदाममा राखिएको चार सय बोरा चामलमध्ये २० बोरा चामल पानीले भिजेर कुहिएको र त्यसलाई नष्ट गरीएको मेयर पटेलले बताएका छन् । 

स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।