वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राखेका थिए ।
भेटमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले राससले समयानूसार आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । उनले प्रविधिको अधिकतम प्रयोग हुने वर्तमान समयमा सोहीअनुसार चल्नसके उपलब्धि हासिल हुने बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पनि प्रदेश सरकार रासससँग सहकार्य गर्न इच्छुक रहेको बताए । जनतालाई सुसूचित गराउने कार्यमा सरकारले राससलाई सहयोग गर्ने उनले बताए ।
भेटमा महाप्रबन्धक राईले राससले आगामी दिनमा भिडियो सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । उनले राससले उपलब्ध गराउँदै आएको सेवालाई द्रुत र अझ विश्वसनीय बनाइने उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न आतुर रहेको धारणा राखे ।
भेटघाट कार्यक्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवालले राससले सम्पादन गर्ने कार्यका बारेमा जानकारी गराएका थिए । भेटमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, राससका संवाददाता प्रकाश सिलवाललगायतको सहाभागिता थियो ।