काठमाडौँ / पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । संघीय संसद सचिवालयको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाडौँले गरेको उच्च निर्णयलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।
न्यायाधीशहरु माधव प्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर हुने आदेश गरेको हो ।
२०७५ असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महरामाथि बलात्कारको आरोम लगाए पछि महरामाथि बलात्कार गरेको अभियोगमा मुद्दा चलेको थियो । २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते उनलाई पक्रा गरेर ५ महिना पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
२०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।
महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए । त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।