एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएको बताइएको छ ।  हाल इराकी प्रधानमन्त्री मुस्ताफा अलखादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

OM Sai Pathibhara Hospital

उहाँहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् ।इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ।हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ । अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ । इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताएका छन् ।