काठमाडौं / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।
जसपा नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।
निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोही अनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।
यस्तै, महन्थ ठाकुरको पक्षमा भने १६ जनामात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे । उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरेका हुन् । यद्यपि कार्यकारिणी समिति सदस्यहरुको मत विभाजनबारे आयोगले आधिकारिक रुपमा केही खुलाएको छैन ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।