सिड्नी / लुगाले कोरोना संक्रमण रोक्ने दाबी गर्दै आएको एउटा कम्पनीलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना गरिएको छ । 

 लोर्ना जेन नामक उक्त कम्पनीले अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने लुगाहरु बनाउने गर्दछ । लुगाले कोरोनाभाइरस नाश गरेको तथा कोभिड –१९ को विस्तारलाई रोकिदिएको दाबी गरेका कारण उक्त कम्पनीले जरिवाना तिर्नु परेको हो ।

OM Sai Pathibhara Hospital

एक्टिभवेअर फर्म लोर्ना जेनुले सबै रोगकारक कीटाणुको विस्तार रोक्न आफ्नो लुगामा एलजे शील्ड नामक अभूतपूर्व प्रविधि प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो। तथ्यहीन दाबी गर्ने उक्त कम्पनीलाई संघीय अदालतको आदेशानुसार ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले बताएका छन् ।

संघीय अदालतका न्यायाधीशले आफ्नो आदेशमा उक्त कम्पनीको दाबी शोषणकारी, हिंस्रक र खतरनाक भएको उल्लेख गरेका छन्। कम्पनीले अदालतको आदेश स्वीकार गर्ने बताएको छ तर उसले प्रविधि आपूर्तिकर्ताले आफूलाई नराम्ररी झुक्याएको दाबी गरेको छ।

‘एउटा विश्वसनीय आपूर्तिकर्ताले हामीलाई एउटा उत्पादन बेच्यो तर त्यसले भने जसरी काम गरेन’, लोर्ना जेनका प्रमुख कार्यकारी बिल क्लार्कसनले भने। लोर्ना जेनले आफ्नो लुगाले कोभिड(१९ फैलिन नदिने दाबी गरेको थियो ।

उक्त कम्पनीले कोभिड महामारीका बेला जुलाईमा आफूले उत्पादन गरेको कपडाहरु बजारमा पुर्‍याउने अभियान थालेपछि उपभोक्ता आयोग एसीसीसीले कानूनी कारबाही शुरु गरेको थियो। गत शुक्रवार उक्त मुद्दाको फैसला गर्दै संघीय अदालतले लोर्ना जेनले विज्ञापनमा आफूसँग युक्तिसङ्गत वैज्ञानिक वा प्राविधिक आधारू भएको दाबी उपभोक्तासँग गरेको तर त्यसो नभएको ठहर गरेको छ।

उपभोक्ता  तथा सर्वसाधारणलाई झुक्याउने काम गरेको भन्दै अदालतले उक्त कम्पनीलाई जरिवाना तिराएको हो।  उक्त कम्पनीका पसलहरू अस्ट्रेलियामा  मात्र नभई न्यूजील्यान्ड, अमेरिका र सिङ्गापुरमा पनि रहेका छन्।

अदालतले उक्त कम्पनीलाई आफ्नो विज्ञापन सच्याएर सूचना प्रकाशित गर्न पनि भनेको छ। केही समयअघि पनि उक्त कम्पनीलाई कोभिडबारे अवैधानिक विज्ञापन गरेको भन्दै ४० हजार अस्ट्रेलियाली डलर जरिवाना तिराइएको थियो।  बीबीसी